बेनीघाट-आरुघाट लार्के सडक: ४२ किलोमिटर मार्ग खुल्यो
तनहुँ | चैत ६, २०८१
तस्बिर फाइल
गोरखा: गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।
नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ ।
चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उहाँले बताउनुभयो ।
बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो ।
ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो ।
चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु सात करोड विनियोजन भएको छ । विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उहाँले बताउनुभयो ।
“दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ”, सेनानी ढकालले भन्नुभयो, “यो वर्ष ट्रयाक खन्न रु सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौँ ।” यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उहाँले बताउनुभयो ।
बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३÷६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो ।
आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन ।
कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो ।
उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

